काठमाडौं । नेपाली सेना देशको शान्ति सुरक्षासँगै विकास निर्माणमा पनि सक्रिय छ । सरकारले सडक विभागले निर्माण गर्न नसकेको अप्ठ्यारो खण्डको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिँदै आएको छ ।
सेनाले भौगोलिक रूपमा कठिन र चुनौतीपूर्ण क्षेत्रमा सडक निर्माण गरी कनेक्टिभिटी महत्वपूर्ण योगदान दिँदै आएको हो । हालसम्म सेनाले देशभर कठिन र चुनौतीपूर्ण मानिएका ३२ वटा सडकको १ हजार ४०० किलोमिटर बढी ट्रयाक खोलिसकेको छ । अहिले पनि सेनाले राष्ट्रिय गौरवका ३ सहित ५ वटा सडक निर्माणको जिम्मा पाएको छ ।
हाल सेनाले काठमाडौं-मधेश/तराई द्रुतमार्ग (फास्ट ट्रयाक), कर्णाली करिडोर, कोशी करिडोर, दार्चुला-तिंकर र बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक निर्माण गरिरहेको छ ।
यी पाँचै सडक रणनीतिक र आर्थिक हिसाबले एकदमै महत्वपूर्ण छन् । यी सडक निर्माण सम्पन्न भएपछि ‘कनेक्टिभिटी’सँगै देशको आर्थिक विकासमा ठूलो फड्को मार्न सहयोग पुर्याउने विश्वास गरिएको छ । यद्यपि, यी आयोजनाहरूले लक्ष्य अनुसार गति लिन भने सकेका छैनन् । काम सुस्त छ ।
यहाँ सेनाले निर्माण गरिरहेका मध्ये फास्ट ट्रयाक बाहेक अरू ४ सडकको पछिल्लो अवस्था बारे चर्चा गरिएको छ ।
१. दार्चुला-तिंकर सडक : महाकाली करिडोरको अन्तर्गत दार्चुला-टिंकर सडकको तुसारपानी-टिंकर खण्डको ७९ किमी सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले पाएको छ । जसमध्ये हालसम्म १८.०२ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाका अनुसार गत असार मसान्तसम्म कुल १७.०५ किमी नयाँ ट्रयाक निर्माण सम्पन्न भएकोमा चालु आवमा थप १९० मिटर ट्रयाक स्तरोन्नति र ५२० मिटर नयाँ ट्रयाक निर्माण गरिएको छ । यो सडक निर्माणको जिम्मा सेनाले २०७७ माघ २८ मा लिएको थियो ।
भीरैभीर र कडा चट्टान भएका कारण यस खण्डको ट्रयाक खोल्न निकै कठिन छ । साथै, बजेट अभावको कारण पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । प्राप्त बजेट अनुसार वार्षिक लक्ष्य राखिने र सोही अनुसार काम गरिने सेनाको भनाइ छ । पर्याप्त बजेट पाउने हो भने सडक निर्माणलाई थप तीव्रता दिन सकिने सेनाले जनाएको छ ।
चालु आवमा दार्चुला-तिंकर सडकका लागि २४ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको छ । सेनालाई आव २०८८/८९ भित्र उक्त खण्डको ट्रयाक खोलिसक्नुपर्ने गरी जिम्मा दिइएको हो ।
४२५ किमी लामो महाकाली करिडोरले सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ । यो सडक निर्माण सम्पन्न भएपछि नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । साथै, दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सजिलो हुनेछ ।
२. कर्णाली करिडोर (लालिबगर-दुल्लीकुन्ना, घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्ड) : कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोट हुँदै चीनको सीमानाका हिल्सासम्म पुग्ने राष्ट्रिय गौरवको कर्णाली करिडोर २६९ किमी लामो छ । सोमध्ये २४६ किमी सडक विभाग र २२.५ किमी निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।
राष्ट्रिय राजमार्ग हुँदै हालसम्म हुम्ला सदरमुकाम सिमिकोट सवारीसाधन पुग्ने गरेका छन् । तर, ट्रयाक खोलिएको सडक साँघुरो र जोखिमपूर्ण रहेकाले ठूला सवारी साधन संचालन गर्न असहज छ । सेनाले अहिले उक्त सडक फराकिलो बनाउने, ग्रेड डाउन गरी स्तरोन्नतिको काम गरिरहेको छ ।

कर्णाली करिडोर अन्तर्गत सेनाले कुल २२.०५ किमी सडक निर्माणको जिम्मा पाएको छ । सोमध्ये हालसम्म १६.०६ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । चालु आवमा मात्रै १४० मिटर ट्रयाक स्तरोन्नति र ६० मिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको सेनाले जनाएको छ ।
सेनाले हुम्लाको लालीबगर-दुल्लीकुना खण्डको ११ किमीमा ट्रयाक खोल्ने काम सेनाले सकेको छ । त्यस्तै, कालीकोट-बाजुरा जोड्ने घाटपारीचौर-बद्री गाउँ-भुक्काखोलाको ११.५ किमी खण्डमध्ये ५.०६ किमी ट्रयाक खोलिसकेको छ । अब ६.४४ किलोमिटर खण्डको ट्रयाक खोल्ने र स्तरोन्नतिको काम बाँकी रहेको सेनाले जनाएको छ ।
चालु आवमा यो खण्डका लागि १० करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आव २०८२/८३ भित्र सेनाले जिम्मा लिएको सडकको ट्रयाक खोल्ने र स्तरोन्नतिको काम सम्पन्न गरिसक्नुपर्नेछ ।
कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्ने यो सकड ५०५ किमी लामो छ । जसमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न मात्रै ४१९ किमी पार गर्नुपर्छ ।
कर्णाली करिडोर सुधारका लागि चालु आवमा कुल १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजना गरिएको छ । जसमा हिल्सा-सिमकोट खण्डका लागि ४५ करोड ४१ लाख रुपैयाँ र खुलालु सलिसल्ला खण्डका लागि ७९ करोड ३५ लाख रुपैयाा विनियोजन गरिएको छ ।
३. बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक : धादिङको बेनीघाटदेखि गोरखाको लार्केपाससम्मको कुल १५४ किमी सडकमध्ये सेनाले अप्ठ्यारो खण्डको ९२ किमी सडकको ट्रयाक खोल्ने जिम्मा पाएको छ ।

सेनाका अनुसार हालसम्म ४०.२८ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको नेपाली सेनाले जनाएको छ । चालु आवमा मात्रै थप ५० मिटर ट्रयाक स्तरोन्नति र २८० मिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ । गत असार मसान्तसम्म कुल ४० किमी सडकको ट्रयाक खोलिएको थियो ।
सेनाले उक्त सडक आर्थिक वर्ष २०८६/८७ भित्र ट्रयाक खोलिसक्नुपर्ने छ । जसमा अब ४ वर्ष भित्र बाँकी ५५१.७२ किमी सडकको ट्रयाक खोल्नुपर्नेछ । यस सडकले पनि पर्याप्त बजेट नपाउँदा अपेक्षित गति लिन सकेको छैन । चालु आवमा यस सडक आयोजनाले कुल १२ करोड ९७ लाख रुपैयाँ बजेट पाएको छ ।
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत सेनाले हावाडाँडादेखि दोभानसम्म १८ किमी ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।
४. खाँदबारी-किमाथांका सडक : सेनाले राष्ट्रिय गौरवको आयोजना समेत रहेको उत्तर-दक्षिण कोशी करिडोर अन्तर्गत खाँदबारी-किमाथांकाको च्याम्ताङ-घोङघप्पा खण्ड निर्माण गरिरहेको छ ।
खाँदबारी-किमाथांका सडक कुल १५८.५ किमी लामो छ । सोमध्ये नेपाली सेनाले १०.५१ किमी खण्ड निर्माणको जिम्मा पाएको थियो । सरकारले २०७७ माघ २४ गते सेनालाई खाँदबारी-किमाथांका सडकको च्याम्ताङदेखि घोङघोप्पासम्मको १०.५१ किमी खण्ड निर्माणको जिम्मा दिइएको थियो ।
सेनाले ट्रयाक खुलाए पनि उक्त खण्ड फराकिलो बनाउने काम बाँकी छ । हाल सडक चौडा बनाउने काम भइरहेको सेनाले जनाएको छ । चालु आवको असोज मसान्तसम्म कुल ४.३१ किमी सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ । गत असारसम्म ३.३१ किमी स्तरोन्नति भएकोमा चालु आवमा थप १ किमी सम्पन्न गरिएको हो । बाँकी ६.२ किमी सडक २०८२ चैत मसान्त भित्रै सम्पन्न गरिने सेनाले जनाएको हो ।
खाँदबारी-किमाथांका भारत-चीन जोड्ने सबैभन्दा छोटो दुरीको सडक समेत हो । भारतीय सीमाक्षेत्र जोगवनीदेखि संखुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । यो सडक निर्माण सम्पन्न भएपछि त्रिदेशीय व्यापारमा सहज हुने अपेक्षा छ । चालु आवमा यस करिडोरले ६१ करोड ५ लाख रुपैयाँ बजेट पाएको छ ।

