उपभोक्तको ढाड सेक्दै सरकार, बढेको सडक दस्तुरले सवारी भाडा बढ्दै !

काठमाडौं । सडक प्रयोग गरेबापत सवारले तिर्नुपर्ने शुल्कमा सरकारले भारी वृद्धि गरेको छ । बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सडक प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क बढाइएको र त्यो सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बताएका थिए । 

उक्त निर्णय सुन्दा सामान्य लाग्छ । तर विगतमा बढीमा ५० रुपैयाँसम्म मात्र रहेको सडक उपभोग दस्तुर एउटै सडकखन्डमा गाडी गुडाउन न्यूनतम १० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म तिर्नुपर्ने छ । 

बढाइएको सडक उपभोग दस्तुर नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ । बाटो उपभोग गरेबापत र्निुपर्ने रकम तिर्दा त्यतिबेला खुसी लाग्छ जतिवेला सडक खाल्डाखुल्डी रहीत र स्मुद हुन्छ । तर हाम्रो देशमा भएका सडक कुनैपनि सडक शुल्क तिर्न खोग्य जस्ता देखिँदैनन् । 

सरकारले बढाएको सडक उपभोग दस्तुर अनुसार अब नौविसे–मुग्लिङ सडक खण्डको लागि ठूला सवारी साधनका लागि १२० र साना सवारीका लागि ५० कायम गरिएको छ । 

नारायणगढ–हेटौंडासम्मको लागि ठूला सवारी साधन बस, मिनिबस, ट्रक र हेवी इक्वीपमेन्टले १ सय रुपैयाँ तिनुपर्ने छ । सोही सडकका लागि साना सवारीसाधन कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले ४० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलले १० रुपैयाँ दस्तुर तिर्नु पर्नेछ ।  

त्यस्तै, नारायणघाट–बुटवलखन्डका लागि बस, मिनिबस, ट्रक र हेवी इक्वीपमेन्टका लागि १३० रुपैयाँ तथा कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ दस्तुर तोकिएको छ । 

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५ रुपैयाँ, सानाका लागि ८५ रुपैयाँ, त्यस्तै हेटौंडा–विरगञ्ज सडकमा ठूला सवारीका लागि ८५ रुपैयाँ, सानाका लागि ५० रपैयाँ, विरगञ्ज–पथलैयाका लागि ठूला सवारीका लागि ५० रुपैयाँ, सानाका लागि २० रुपैयाँ र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

इटहरी–दमक सडकमा ठूला सवारीका लागि १२५ रुपैयाँ, सानाका लागि ५० रुपैयाँ, विराटनगर धरान सडकमा ठूला सवारीका लािग ७० रुपैयाँ, सानाका लागि २५ रुपैयाँ, त्यस्तै कोशी–जैहरुवा सडकमा ठूला सवारीका लागि १४० रुपैयाँ, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ । दमक–काकडभिट्टा सडकमा ठूला सवारीका लागि ७५ रुपैयाँ, सानाका लागि ३० रुपैयाँ सडक दस्तुर तोकिएको छ ।

यसरी हेर्दा काठमाडौंबाट काँकडभिट्टा पुग्न एउटा बसले नौविसे–मुग्लिङमा १२० रुपैयाँ, नारायणगढ–हेटौंडामा १ सय रुपैयाँ, कोशी–जैहरुवामा १ सय ४० रुपैयाँ, इटहरी–दमकमा १ सय २५ र दमक–काँकडभिट्टा सडकमा ७५ रुपैयाँ गरि कुल ५ सय ६० रुपैयाँ तिर्नुपर्छ । काँकडभिट्टाबाट काठमाडौं आउँदासमेत ५ सय ६० रुपैयाँ गरि एउटा बसले राउड टिपमा ११ सय २० रुपैयाँ सडक उपभोग दस्तुर राज्यलाई तिर्नु पर्छ । 

काठमाडौंबाट काँकडभिट्ट जाने ४० सिट क्षमताको बसले एकपटकमा ५ सय ६० रुपैयाँ सरकारलाई सडक उपभोग दस्तुर तिर्नुपर्छ । त्यो भनेको एक जना यात्रुबराबर १४ रुपैयाँ हुन आउँछ । विगतमा उक्त रुटमा गुड्ने बसले २ सय रुपैयाँभन्दा कम सडक उपभोग दस्तुर तिरे पुग्थ्यो । त्यो भनेको एक यात्रुबराबर ५ रुपैयाँमात्र हुन्थ्यो । 

यहाँ एउटा रुटमा तिर्नुपर्ने सडक उपभोग दस्तुरलाई प्रतिनिधि रुटका रुपमा लिइएको हो । यसरी देशैभरका सडक उपभोग गरेबापट सवारीसाधनले दस्तुर तिर्नु पर्छ । सार्वजनिक सवारीले मात्र होइन निजी सवारी तथा मोटरसाइकलसम्मले सडक उपभोग दस्तुर तिर्नुपर्छ । 

सार्वजनिक सवारीले तिर्ने सडक दस्तुर अन्ततः उपभोक्ताकै टाउकोमा आइपुग्छ । यातायात व्यवसायीहरुले तत्काल भाडा नबढाए पनि भाडा बढाउँदाको समयमा उक्त दस्तुरसमेत समावेश गराउन दबाद दिनेछन् । यातायात क्षेत्रमा सरकारको शून्य उपस्थिति हुँदा व्यवसायीले राखेका माग सँधै पुरा भइरहेको छ । काँकडभिट्टा जाने यात्रुको मात्र होइन, चितवन जाने यात्रुले समेत बढी भाडा तिर्नुपर्ने हुन्छ । 

सरकारले यती धेरै सडक उपभोग दस्तुर उठाउनु सर्वथा गलत भएको एक यातायात व्यवसायीले बताए । ‘कयौं गुणा सडक उपभोग दस्तुर बढाइएको छ । त्यसको प्रभाव स्वतः उपभोक्तामा पुग्छ, अब हरेक गन्तव्यको भाडा बढ्छ,’ ती व्यवसायीले भने, ‘न त सडक गुणस्तरीय छ, न त बढाइएको सडक उपभोग दस्तुर नै व्यवहारिक छ । यो त सरकारले पैसा उठाउने नीतिमात्र रहेको प्रष्ट्याइँ मात्र हो ।’ 

यी यातायात व्यवसायीको भनाईबाट के बुझन सकिन्छ भने व्यवसायीहरु गाडीको भाडा वृद्धिको माग लिएर सरकारी निकाय धाउने सोचमा पुगि सकेका छन् । 


Back_to_top