काठमाडौं । उपत्यकामा साझा यातायातले नयाँ २० वटा बस थप गर्ने भएको छ । साझा यातायातले अहिले काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर गरी देशभर जम्मा ५१ वटा बसहरू सञ्चालन गरिरहेको छ ।
कम्पनीका प्रबन्धक महेन्द्रराज पाण्डेयकाअनुसार काठमाडौं उपत्यकाभित्र ४७ वटा बस सञ्चालनमा छन् भने ४ वटा सुविधासम्पन्न बसहरू उपत्यकाबाहिर सञ्चालनमा रहेका छन् ।
ती ४ बसमध्ये २ वटा बसले काठमाडौं–बाग्लुङ र २ वटा बसले काठमाडौं–भैरहवामा सेवा दिइरहेका छन् ।
उपत्यकाभित्र थप २० गाडी सञ्चालनमा ल्याईंदै
साझा यातायातको सेवा अझै मजबूद बनाउन कम्पनीले २० वटा नयाँ बस थप्न लागेको हो । प्रबन्धक पाण्डेयकाअनुसार उपत्यकामा सञ्चालनका लागि अशोक लेल्यान्डका २० वटा नयाँ बसहरू नेपाल आउने क्रममा रहेको छ ।
‘उपत्यकामा मात्र होइन, बाहिरका लागि पनि नयाँ बसहरू थप्ने तयारी भइरहेको छ’, प्रबन्धक पाण्डेयले मेरोअटोसँग भने ।
प्रदेश ३ सरकारले यसै आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँसम्मको बिजुली बसहरू खरिद गर्नेछ ।
‘अशोक लेल्यान्डले अहिले ती बसहरू निर्माण गरिरहेको छ । अबको दुई महिनाभित्रमा उपत्यकामा ती बसहरू गुड्न सुरु हुनेछन्’, पाण्डेयले भने ।
आफ्नै बिजुली बस चलाउने तयारी
साझा यातायातले आफ्नै बिजुली बसहरू सञ्चालनका लागि महानगरपालिका तथा विभिन्न प्रदेश सरकारसँग पनि कुरा गरिरहेको छ ।
पाण्डेयकाअनुसार अहिले काठमाडौं महानगरपालिका र प्रदेश नम्बर ३ सरकारले बिजुलीका बसहरू खरिद गर्ने भएका छन् भने प्रदेश नम्बर ५ पनि इच्छुक देखिएको छ ।
प्रदेश ३ सरकारले यसै आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँसम्मको बिजुली बसहरू खरिद गर्नेछ । त्यस्तै, काठमाडौं महानगरपालिकाले पनि यसै आर्थिक वर्षभित्रमा १० करोड रुपैयाँसम्मको बिजुली बस खरिद गरेर सञ्चालन गर्ने तयारी गरेको छ ।
साझासँगको सहकार्यमा प्रदेश सरकारले बिजुली बस सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अहिले बिजुली बस खरिद प्रक्रियाका लागि साझा र प्रदेश सरकारबीच सम्झौता हुने चरणमा रहेको बताइएको छ ।
त्यस्तै, काठमाडौं महानगरले पनि बिजुली बस खरिदका लागि निर्णय गरिसकेको छ भने सम्झौता हुन बाँकी रहेको छ । केही समयभित्रमा नै प्रदेश सरकार र महानगरसँग सम्झौता गरी बस सञ्चालनमा ल्याइने जनाइएको छ ।
नमूना सेवाः यौनजन्य हिंसा रोक्नेदेखि वृद्धवृद्धालाई निःशुल्क यात्रासम्म
साझा यातायातले आफूले सधैँ सबैको साझा हुने गरी सेवा दिइरहेको र यात्रुहरूको सेवा, सुरक्षा र सुविधामा सधैँ चिन्तित रहेको जनाएको छ ।
साझाले हालसालैमात्र सवारीसाधनमा हुने गरेको यौनजन्य हिंसा रोक्नका लागि जनचेतनासमेत फैलाउँदैआएको छ । जुन अभियान अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ ।
त्यस्तै, साझाले ७० वर्ष पुगेका वृद्धवृद्धाहरूका लागि निःशुल्क यात्राको सुविधा दिएको छ । अब आउने साझाका बसहरू अपाङ्गतामैत्री हुने पाण्डेयले जानकारी दिए ।


